image

राजर्षि गुरुकुलमा गाईजात्राको अवसरमा : समसामयिक समाजमा हास्यव्यङ्ग्यको महत्व

राजर्षि गुरुकुलमा गाईजात्राको अवसरमा : समसामयिक समाजमा हास्यव्यङ्ग्यको महत्व
Admin August 17, 2026 0 Comments
गाईजात्रा नेपाली समाजको एक विशिष्ट पर्व हो, जसले हास्य, व्यङ्ग्य र सामाजिक चेतनालाई एकैसाथ उजागर गर्छ। यही कुरालाई ध्यानमा राखेर राजर्षि गुरुकुल विद्यालय सल्लाघारी भक्तपुरमा आज मिति २०८२/४/२३ गतेका दिन गाईजात्रा विशेष कार्यक्र्म सम्पन्न भएको छ। जसमा प्रमुख अतिथिको रूपमा नेपालका राष्ट्रियस्तरका चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल र साथमा मोहन गजुरेल पनि हुनुहुन्थ्यो।

कार्यक्रमको सुरुवातमा कक्षा ८ र ९ का विद्यार्थीहरूले आत्मविश्वासपूर्वक मञ्चमा उभिएर, उनीहरूले सामाजिक बेमेल, राजनीतिक चलखेल, र हाम्रो दैनिकीका रमाइला तर गहिरा पक्षलाई रमाइलो शैलीमा छोटो नाटक प्रस्तुत गरेका थिए। त्यसपछि मनोज गजुरेलले पनि बालबालिकाको आत्मविश्वास , नेपालीभाषाप्रतिको लगाव र विद्यालयको नामको बारेमा प्रशंसा गर्नुभएको थियो। उहाँले भन्नुभयो,” हामी जहाँ गए पनि नेपाल ,नेपाली भाषा र नेपाली संस्कृतिलाई बिर्सनुहुँदैन । उहाँले समसामयिक समाजमा हास्यव्यङ्ग्यको भूमिका र यसको महत्वबारे प्रेरणादायी विचार प्रस्तुत गर्नुभयो। उहाँले बताउनुभयो कि गाईजात्रा जस्ता सांस्कृतिक पर्वहरूले हामीलाई पीडा, विसङ्गति र बेथितिलाई हाँस्दै सहन र सुधारको बाटो देखाउने अवसर दिन्छन्।



राजर्षि गुरुकुलको सभाकक्षामा प्रस्तुत गरिएको मन्तव्यले स्पष्ट गर्यो कि हास्यव्यङ्ग्य मनोरञ्जन मात्र होइन, समाज सुधारको प्रभावकारी साधन हो। हाँसोको रङ्गीन फूलभित्र लुकेको सत्य सुगन्धले हाम्रो सोच, दृष्टि र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

त्यसपछि विद्यार्थीहरूले, प्रमुख अतिथि मनोज गजुरेललाई रोचक प्रश्न सोध्ने अवसर पाएका थिए। यो अन्तक्रियात्मक कार्यक्रमले केवल हास्य मात्र होइन, गहिरो जीवनदर्शन पनि बोकेको थियो।
एक विद्यार्थीले सोधे, "कलाकार बन्ने प्रेरणा तपाईंलाई कसरी मिल्यो?"
गजुरेलले मुस्कुराउँदै जवाफ दिनुभयो- "कलाकारिता भनेको जीवनलाई बुझ्ने, अनुभव गर्ने र त्यसलाई अरूसम्म पुर्‍याउने माध्यम हो। प्रेरणा कहिले बाल्यकालको वातावरणबाट, कहिले समाजका घटनाबाट आउँछ।" अन्त्यमा मनोज गजुरेलले भाग्य र कर्मको बारेमा गहिरो विचार राख्नुभएको थियो ।उहाँको भनाइ अनुसार "भाग्यले ढोका देखाउँछ, तर त्यस ढोकासम्म पुग्ने बाटो तपाईंको कर्मले बनाउँछ। मात्र भाग्यमा भर पर्नु भनेको नउठी सपना देख्नु जस्तै हो तसर्थ भाग्य र कर्मको मेल भयो भने मात्र जीवनमा सफल भइन्छ।"

यस अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीहरूलाई केवल मनोरञ्जन मात्र दिएन, जीवनमा श्रम, सिर्जनशीलता र उद्देश्यको महत्वबारे सोच्न पनि प्रेरित गर्‍यो। सभाकक्षमा गरिएको यस प्रस्तुतिले हाँसो र शिक्षाको सुन्दर संगम प्रस्तुत गर्‍यो।
Social:

0 Comments

  • Be the first to leave a comment.

Leave a Comment